
बागलुङ,
बागलुङको गलकोट नगर अस्पताललाई जापानवासी युवाले ३५ लाख रुपैयाँको ’अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेका छन् ।
’अल्ट्रासाउन्ड’ उपकरण बिहीबार गलकोट समाज जापानका उपाध्यक्ष अमर भण्डारीले अस्पताललाई हस्तान्तरण गर्नुभयो । समाजले यसअघि नगर अस्पताल संचालनका लागि दर्जनौं सामग्री, उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो ।
अस्पताल संचालन गर्न समाजमार्फत एम्बुलेन्ससमेत सहयोग आएको नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । अस्पतालभित्रै डेन्टल मेसिन, भिडियो एक्स–रे,आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग आएको छ ।
एक वर्षदेखि गलकोटमा नगर अस्पताल १५ शय्याको क्षमतामा संचालनमा छ । यहाँ एमडीजीपी डाक्टर राजेश पौडेलसहित दुई जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरेपछि अस्पतालमा दैनिक १ सय ७० जनासम्म बिरामीले उपचार सेवा पाएको तथ्यांक छ ।
‘यति धेरै जनताले नियमित सेवा पाउने भएपछि हामीले जापानमा बसेर पनि सहयोग जुटायौं,’ गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले भन्नुभयो ।
‘गाउँको विकासमा विदेशमा बसेर पनि धेरैको चिन्ता र चासो छ
गलकोट समाजले स्थानीय बिरामी पर्दा उपचार खर्च, खेलकुद कार्यक्रम हुँदा पुरस्कार र सामग्री खर्च पनि जापानबाट पठाउने गरेको छ ।
भूकम्पको बेला सिन्धुपाल्चोकमा पुगेर विद्यालय उनीहरुले बनाइदिएका थिए । गाउँमा उपचार नपाएर थलिएका तथा दुर्घटनामा परेका बिरामीलाई उपचारमा पनि लाखौं सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो ।