images
images

पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण सुवाका बासिन्दाहरुलाई आपतकालिन राहत वितरण

म्याग्दी,

पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई आपतकालिन राहत वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएका सतबिर पाईजालाई १५ हजार र विस्थापित अन्य १९ जनालाई पाँच÷पाँच हजारका दरले वितरण गरेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले उक्त राहत रकम वितरण गर्नुभएको थियो ।

मन्त्री जुग्जालीले तत्कालिन हिसाबले क्षति न्युनिकरण, सुरक्षित बसोबासको व्यवस्था र दिर्घकालिन रुपमा प्राविधिक टोलीबाट अध्ययन गरि बस्ती स्थानान्तरण, एकिकृत वस्ती निर्माण र पुननिर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

साउन ३२ गते रातीको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खाम भित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि सुवा गाउँमा पहिरोले स्थानिय बासीको उठिबास लगाएको हो । पहिरोले ८ घर उच्च र १० घरधुरी जोखिममा छन् ।

दानाको सुवासंगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितर लगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ । सुवा गाउँको शिर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्क विच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो ।

पहिरोले जोखिममा रहेका सुवाबासीलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा रहेको वडा कार्यालयको सभाहलमा खाने बस्ने व्यवस्था मिलाइएको छ । सशस्त्र प्रहरी बल नेपाल, आश्रीत गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् ।