
बागलुङका १३ प्रतिशत नागरिक अझै पनि खानेपानीको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ८७ प्रतिशतमा आधारभूत खानेपानीको पुगेको छ भने अझै पनि १३ प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा बाहिर रहेका छन् ।
सङ्ख्यात्मक रुपमा हेर्दा जिल्लाका १६ हजार आठ सय ५८ जनामा खानेपानीको पहुँच नपुगेको कार्यालयले जनाएको छ । पाँच वर्षअघिसम्म जिल्लाका धेरै ठाउँमा खानेपानीको समस्या रहेकोमा अहिले अधिकांश क्षेत्रमा आधारभूत खानेपानीको सुविधा पुगेको जनाइएको छ ।
जिल्लामा वि. सं. २०७५ देखि नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले खानेपानीको सबैभन्दा धेरै समस्या रहेको ढोरपाटन, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाबाट काम सुरु गरिएको जनाएको छ । नेवाका प्रदेश कार्यालय प्रमुख रमेश दाहालले अहिले बागलुङसँगै म्याग्दीमा पनि काम खानेपानीको पहुँच विस्तारका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार हालसम्म दुई जिल्लाका विभिन्न ठाउँमा पाँच हजार आठ सय ३० धारा निर्माण गरेर सञ्चालनमा आएका छन् । ती धाराबाट बागलुङ र म्याग्दीका ६५ हजार छ सय ७७ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा नेवाले काम थालेको जनाउँदै प्रमुख दाहालले सुरक्षित खानेपानीसँगै पूर्ण सरसफाइ र स्वच्छताका क्षेत्रमा पनि काम गरिरहेको जानकारी दिनुभयो । खानेपानी पु¥याउन बाँकी गाउँमा पनि विस्तारै पहुँच विस्तार गर्दै लगिने उहाँको भनाइ थियो ।
धारा, पाइपालन, ट्याङ्कीलगायत पूर्वाधार निर्माण गर्दा हालसम्म ३३ करोड ५२ लाख ७८ हजार खर्च भएको नेवाले जनाएकोे छ । खानेपानीको समस्या भएको क्षेत्रका स्थानीयको जनसहभागितामा पालिकासँग समन्वय गरी ‘एक घर एक धारा’अन्तर्गत आधारभूत खानेपानीको पहुँच पु¥याउन अभियान थालिएको नेवाका प्रदेश कार्यालय प्रमुख दाहालले बताउनुभयो ।