
जैमिनी नगरपालिकाले गाडी तथा डोकोको माध्यमबाट जैमिनी नगरपालिकामा अस्थाई व्यापार गर्नेहरुलाई करको दायरामा ल्याउन सुरु गरेको छ ।
पालिकाले शुक्रबारदेखि पालिका मुकाम कुश्मीसेरामा सवारी साधन, पटके व्यवसाय, वस्तु तथा सेवा ओसारपसार कर संकलन केन्द्र स्थापना गरि डोकोमा बोकेर वा गाडीबाट सामान बिक्रि गर्ने व्यवसायीलाई करको दायरामा ल्याउन सुरु गरेको हो ।
जैमिनी नगरपालिका उपमेयर हरिहर शर्माले पालिका बाहिरबाट आई गाडी, डोको तथा झोलाको माध्यमबाट व्यापार तथा व्यवसाय गर्नेहरुलाई करको दायरामा ल्याइएको बताए । डोको तथा झोलामा सामान लगि ब्यापार गर्नेहरुले एक हप्ताको दुई सय रुपैयाँ कर तिर्ने पर्ने हुन्छ ।
गाडीबाट व्यापार गर्नेरुले पाँच सय रुपैयाँ कर तिर्नु पर्ने उपमेयर शर्माले बताए ।
यसले पालिकामा बाहिरबाट आउने व्यक्ति तथा व्यवसायीको तथ्याङ्क राख्न पनि सहज हुने उनको भनाई छ ।
‘कतिपय व्यक्तिले नक्कली सामान बिक्रि गर्दै हिँडेको पनि पाएका छौँ, नागरिकहरु ठगिने गरेको गुनासो पनि समय–समयमा आउने गरेका छन् ।’ उनले भने–‘यसले ठग्ने व्यक्तिको पहिचान हुने र उनीहरुलाई कानुनी दायरामा ल्याउन सहज हुने भएकोले पनि यस्तो गरेका हौँ ।’
विभिन्न जडिबुटी, मह, बिग्रेका कुक्कर बनाउन आउनेबाट नागरिकहरु ठगिएको गुनासो बेलाबखत आइरहन्छन् ।
शर्माले पालिका भित्र सञ्चालित सवारी साधनलाई पनि बार्षिक करको दायरामा ल्याइएको बताए । त्यस्तै पालिका भित्र उत्पादिन ढुङ्गा, काठ तथा फर्निचर, पशु चौपायका क्रेताले पनि कर तिर्नु पर्ने हुन्छ ।
शर्माले अहिले कुश्मीसेरामा कर संकलन केन्द्र स्थापना गरिए पनि गुल्मीसँग सिमा जोडिएको वडा न. ८ छिस्तीको धुस, बरेङसँग सिमा जोडिएको राङखानीमा पनि राखिने बताए ।
अहिलेलाई नगदबाट मात्र कर तिर्ने व्यवस्था रहेकोमा केही दिनमा नै क्यूआर कोर्ड मार्फत पनि कर तिर्न सकिनेछ