बागलुङको गलकोट नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरोकारवालाले तयार

बागलुङको गलकोट नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरोकारवालाले तयारी थालेका छन् ।

यसअघि २०७५ साल फागुनमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्लामा नै तत्कालिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वदलिय, सर्वपक्षिय बैठक बसेर सर्वसम्मत निर्णय गरि नेपाल सरकार समक्ष माग पेश गरिएको थियो ।

तत्कालिन नेपाल सरकारका प्रधानमन्त्री, गृहमन्त्रीबाट प्रतिवद्वता जाहेर भएता पनि कार्यन्यवन नभएको भन्दै पुनः उक्त कार्यलाई अगाडी बढाईएको बताईएको छ । तत्कालिन माग र पहल विफल भएपछि राजनैतिक दलले सरोकार पक्षसँग सम्वाद प्रक्रिया अघि बढाएको छन् ।

देशमा संघिय गणतन्त्र स्थापनाको यत्तिका वर्ष बितिसक्दा समेत मध्यभागमा रहेका गलकोट नगरपालिका, ताराखोला, बरेङ र बडिगाड गाउँपालिकाका नागरिकहरु नागरिकता, राहदानी लगायतका अत्यावश्यक सरकारी सेवा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता कायमै रहेको छ ।

यहाँका जनताले नागरिकता लगायत सरकारी सिफारिस जस्ता आधारभुत अत्यावश्यक सेवा लिन असहज रहेको भन्दै सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य गर्न स्थानिय स्तरबाटै गलकोट नगरपालिका सहित राजनितिक दलले आवश्यक पहलका लागि सक्रियता देखाएका हुन् ।

ईलाका प्रशासन कार्यालय स्थापनाको माग गर्न गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ ।

समितिको सह संयोजकमा नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी र सदस्यमा नेपाली काँग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, नेकपा एमालेका गलकोट नगर अध्यक्ष पुर्ण काउचा र राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंकबहादुर केसी रहनुभएको छ ।

ईलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा अन्य पालिकाहरु ताराखोला, बरेङ, बडिगाडका जनप्रतिनिधि सहित सरोकारवालासँग अन्तरकृया सहित आवश्यक समन्वय गरिने नेपाली काँग्रेस गलकोट नगर सभापति विरजंग भण्डारीले जानकारी दिनुभयो ।