
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परिक्षण सफल भएको छ ।
म्याग्दी हाइड्रो पावर प्रा.ली.ले निर्माण गरेको घारखोला जलविधुत् आयोजनाको परिक्षण सफल भएपछि उत्पादित विधुत् आइतबारदेखि केन्द्रिय प्रशारण लाइनमा आवद्ध गराइएको छ । आयोजनाका आवासीय ईञ्जिनियर जोसेप बज्राचार्यले सबै परिक्षण सफल भएपछि घारखोलाको विधुत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रणालीमा जोडिएको जानकारी दिनुभयो ।
बाँध, क्यानल, सुरुङ, पेनस्टक, टर्वाइन, जेनेरेटर, स्विचार्ड र प्रशारण लाइन लगायत सबै संरचना तथा उपकरणको परिक्षण सफल भएको छ । उहाँले भन्नुभयो १५ दिनपछि व्यवसायिक उत्पादन शुरु हुन्छ । नेपाल विधुत प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा गत असार २६ गतेदेखि आयोजनाले परिक्षण उत्पादन शुरु गरेको थियो ।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोलाको विधुत् गृहबाट ८ किलोमिटर लामो प्रशारण लाइन मार्फत २२० के.भी. क्षमताको दाना सब स्टेसनमा लगेर जोडेको हो । कालीगण्डकी कोरिडोर प्रशारण लाइन अन्तर्गत दाना सब स्टेशनमा यस अघि ४२ मेघावाटको मिस्त्री खोला र १३ मेघावाटको थापा खोलाको विधुत् राष्ट्रिय प्रशारणमा जोडिएका थिए ।
घारखोलाको विधुत् गृह देखि सब स्टेशन सम्म जोड्ने प्रशारण लाइनमा समस्या देखिएपछि परिक्षण अवधि लम्बिएको हो । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका, ६ अमिलाकाफल स्थित आउटलेट बाट १२ सय मिटर पेनस्टक पाइपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विधुत् गृहमा खसालिएको छ ।
रु. दुई अरब ४१ करोड लागत अनुमान गरिएको आयोजना वि.स. २०७४ चैत देखि निर्माण थालिएको थियो । वि.स. २०७८ मा सक्ने लक्ष्य रहेपनि कोरोना, पहिरो, सडक यातायातको असुविधा लगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रर्वद्धकले बताएका छन् ।
इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रा.ली.का प्राविधिकले विधुत् गृहमा उपकरण जडान गरेका हुन् । सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर भौतिक संरचना निर्माण गरेको हो । विधुत् गृहको नजिकै स्वचार्ड बनाइएको छ । आयोजनामा एन.एम.बी बैंकको नेतृत्वमा एन.आइ.सी एसीया, कुमारी र प्राइम कमर्सियल बैंकले लगानी गरेका छन् ।
नागरिक उर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आव्हान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रर्वद्धकले बताएका छन् ।