images
images

कालीगण्डकी नदीमा जीप खसालेर भागेका चालक दम्पतीलाई म्याग्दी प्रहरीले आपराधिक विश्वासघातको कसुरमा मुद्धा ।

कालीगण्डकी नदीमा जीप खसालेर भागेका चालक दम्पतीलाई म्याग्दी प्रहरीले आपराधिक विश्वासघातको कसुरमा मुद्धा अगाडि बढाएको छ । मालिका गाउँपालिका देविस्थान घर भई बेनी नगरपालिका महारानीथान बस्ने जीप चालक कमलेश परियार र उहाँकी श्रीमती सीता लौडारी परियारलाई प्रहरीले आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरि आपराधिक विश्वासघातको कसुरमा मुद्धा अगाडि बढाएको हो ।

बेनी–जोमसोम सडकको महभीर भीरकाटे खण्डबाट साउन १० गते ग २ च १०३१ नम्बरको मालवाहक बोलेरो जीप कालीगण्डकी नदीमा फालेर बेपत्ता भएका कमलेशलाई प्रहरीले साउन १४ गते काठमाडौंको मित्रनगरस्थित ओम गेस्ट हाउसबाट पक्राउ गरेको थियो । श्रीमती सीतालाई भने साउन १५ गते बिहान सदरमुकामस्थित बेनी नगरपालिका ७ महारानीथानचोकमा रहेको डेराबाट २ लाखभन्दा बढी नगद रुपैयाँ सहित पक्राउ गरेको थियो ।

बेनीबजारस्थित सुमन किराना स्टोर्सबाट खाद्यान्न लिएर अन्नपूर्ण गाउँपालिका–३ दाना र सोही पालिका–४ नारच्याङ क्षेत्रमा खाद्यान्न बेचेर करिब १४ लाख नगद रुपैयाँ उठाएका चालक परियारले साउन १० गते जीप कालीगण्डकीमा फालेर आफू रातातार भागेको जनाइएको छ ।

श्रीमान् कमलेशलाई मालवाहक जिप कालीगण्डकीमा फाल्न लगाई रकमसहित भाग्न मिलिभगत गरेको आरोपमा श्रीमती सीतालाई पनि पक्राउ गरि आपराधिक विश्वासघात कसुरको अभियोगमा जिल्ला अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।