images
images

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले मुलघडेरी टोलका छ घरपरिवार विस्थापित

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले मुलघडेरी टोलका छ घरपरिवार विस्थापित भएका छन् ।

पहिरो लेदो बनेर बग्न थालेपछि सँयौ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै थप चार वटा टोलका एक सय भन्दा बढी घर जोखिममा परेका छन् । असार ११ गते राती कुवापानीको चिहानडाडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो ।

मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका छन् । पहिरोको कमेरे माटो बस्ती माथिको जंगलको मुलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ ।

आकाशबाट पानी पर्ने बित्तिकै लेदो सहितको बाढी आउने गरेको पदमबहादुर कार्कीले बताउनुभयो । जोखिममा परेका परिवारका सदस्यहरुलाई नजिकै रहेको नवगारण आमा समूहको भवनमा राखिएको वडा अध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।

पहिरोले वडा नम्बर २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुदै म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको उहाँले बताउनुभयो । यसअघि जंगल र मुलघडेरीसम्म अडिएको पहिरोको लेदो शनिबारको बर्षातपछि पूर्णगाउँको तालसम्म आइपुगेको छ ।

डम्मरबहादुर खत्रीको सुन्तला बगैचा र बारी बाढीले पुरेको छ । मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपाली धान र कोदो रोपाई गर्न नपाएको कृषकले बताएका छन् ।

पहिरो र जोखिममा परेका ठाउँका विभिन्न चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन् ।

पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मुलघडेरीमा बाँध र नहर बनाइएको छ । मुलघडेरीदेखि खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकाको ब्याकुहोलोडर परिचालन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।