शिक्षक लाई प्रविधि मैत्री बनाउन वडा कार्यालय द्धारा ल्यापटप वितरण

बागलुङ, २४ असार – जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराले नौ विद्यालयका ३५ जना शिक्षकलाई निःशुल्क ल्यापटप उपलव्ध गराएको छ । सामुदायीक विद्यालयको शैक्षिक सुधार योजनाअन्तर्गत वडा कार्यालयले पहिलो चरणमा ३५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएको हो ।

शिक्षक प्रबिधिमैत्री भए मात्रै शिक्षा प्रबिधिमैत्री हुने भएकाले शिक्षकहरुलाई सबल बनाउन ल्यापटप उपलव्ध गराईएको वडा अध्यक्ष विद्यापती शर्माले बताउनुभयो । चालु आर्थिक बर्षमा वडाले गौरवको योजनाको रुपमा शिक्षकहरुलाई ल्यापटप उपलव्ध गराउने कार्यक्रम बनाएको थियो । २० लाख रुपैयाँ खर्चेर ल्यापटप खरिद गरी उपलव्ध गराईएको हो ।
वडामा ४८ जना शिक्षकको दरवन्दी रहेकोमा पहिलो चरणमा ३५ र दोस्रो चरणमा बाँकी १३ जना शिक्षकले ल्यापटप पाउने छन् । शिक्षकहरुलाई व्यक्तिगत नभई विद्यालयमार्फत ल्यापटप उपलव्ध गराईएको हो ।

सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि सवल शिक्षक बनाउने अभियान थालेका हौं’ वडाध्यक्ष शर्माले बताउनुभयो । विश्व बजारमा चलेको प्रबिधि अनुसारको पठनपाठन होस् र त्यसका लागि सहयोग पुगोस् भनेर ल्यापटप सहयोग गरिएको उहाँको भनाई छ ।

वडाले शिक्षा सुधार पहिलो प्राथमिकता भनेको छ । शिक्षाको सुधार हुँदा समाजका अन्य पाटोमा सुधार आउने भएकाले गाउँपालिकाले बनाएको एक वडा एक गौरवको आयोजनाअन्तर्गत भीमापोखरामा शिक्षा सुधार योजना ल्याईएको शर्माले जानकारी दिनुभयो ।

शिक्षकहरुलाई ल्यापटप वितरण गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले ल्यापटपले मात्रै शैक्षिक सुधार नहुने भन्दै शिक्षकलाई राज्यले गरेको लगानीको आधारमा जिम्मेबार बन्न सुझाव दिनुभयो । उहाँले सामुदायीक विद्यालयमा रहेका क्षमतावान शिक्षकले आफ्नो क्षमता प्रयोगमा ल्याउँदा मात्रै शिक्षा क्षेत्रमा रहेका आधा समस्या समाधान हुने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले काठेखोलाको शिक्षाक्षेत्र प्रबिधिमैत्री बन्दै गइरहेको बताउनुभयो । चालु आर्थिक बर्षदेखि सबै बिद्यालयको अनुगमनका लागि प्रबिधिको प्रयोग गरिने भन्दै थापाले शिक्षा क्षेत्रको सुधारमा गाउँपालिका तदारुकताका साथ लागिपरेको बताउनुभयो ।

काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर थापाले ल्यापटप पाएका शिक्षकलाई वडा कार्यालयले अनुदान दिएको नभएर जिम्मेबारीको भारी बोकाएको सम्झिनुपर्ने बताउनुभयो । इमान्दार र मेहनती शिक्षकले नै शिक्षामा सुधारको थालनी गर्नसक्ने उहाँको धारणा थियो ।