images
images

ढोरपाटन नगरपालिकामा विद्युत् सेवा अवरुद्ध

बागलुङ, २३ असार – अविरल वर्षाका कारण आएको पहिरोेले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटन नगरपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

शुक्रवार हिजो गएको पहिरोले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उहाँको भनाइ छ।

विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको कायतले बताउनुभयो । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सेवा सुरु हुने उहाँले बताउनुभयो ।

’अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उपमेयर कायतले भन्नुभयो, ’बर्खा रोकियो भने पक्की मुहान र नहर बनाउने योजना छ ।’ बर्खाको समयमा पटक–पटक बाढीपहिरोले दुःख दिँदै आएको उहाँले बताउनु भयो ।