दुई हप्तामै बेलिब्रिज तयार

म्याग्दी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत भुरुङ्गखोलामा दुई हप्तामै बेलिब्रिज जडान गरिएको छ
बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्ग खोलामा करिब रु. ३५ लाखको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान भएको जनाएको छ । सडक अन्तरगत मुस्ताङको लेतेखोलाको बेलिब्रिजलाई भुरुङ्ग खोलामा स्थानान्तरण गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो । बर्खा याममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलिब्रिज राखिएको हो ।
असार पहिलो साता शुरु गरिएको बेलिब्रिज जडानको काम सकिएर यातायातका साधन आवत जावत गर्न थालेका स्थानीय बासिन्दा समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य बिरबहादुर पौडेलले जानकारी दिनुभयो ।

कल्भर्ट बढाएपछि भुरुङ्ग खोलामा बाढी आउँदा सवारी साधन आवत जावत अवरुद्ध हुने समस्या थियो । म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्री समस्यामा परेका थिए । बेलिब्रिज सञ्चालन भएपछि सहज भएको छ ।
लेतेखोलामा पक्कि पुल बनेपछि त्यहाँको बेलिब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो । पोखराबाट बेलिब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्ग खोलामा राखिएको हो ।