images
images

कृषक, सामुदायिक वन समूह र वन उपभोक्ताहरुलाई वितरण गर्न एक लाख पचास हजार विरुवा उत्पादन

म्याग्दीमा कृषक, सामुदायिक वन समूह र वन उपभोक्ताहरुलाई वितरण गर्न यस वर्ष करिब एक लाख पचास हजार विरुवा उत्पादन भएको छ ।
डिभिजन वन कार्यालय र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीमा उत्पादन भएको बाहेक वन डिभिजनले थप ११ हजार ५०० फलफुलका विरुवा खरिद गरेर वितरण गर्ने तयारी भएको छ ।
वन डिभिजनले विरुवा वितरण र वृक्षारोपण अभियान थालिसकेको छ । भू–तथा जलाधार कार्यालयले यही असार २० गते बुधबार देखि विरुवा वितरण गर्ने तयारी गरेको छ । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले घाँस र काष्ठ प्रजातिको ७२ हजार र २१ हजार जडिवुटी प्रजातिका बिरुवा उत्पादन गरेको जानकारी दिनुभयो ।
बेनीमा ३५ हजार, ताकममा १० हजार, दरवाङमा ११ हजार, बाबियाचौरमा नौ हजार र भुरुङ्ग–तातोपानीको नर्सरीमा ८ हजार काष्ठ र घाँस प्रजातिका बिरुवा उत्पादन भएको उहाँले बताउनुभयो ।
राईखन्यु, निमारो, चाँप, कुरिलो, निम, कल्कीफुल, पारिजात, गल्मोहर, लालीगुराँस, टिम्मुर कुरिलो प्रजातिका विरुवा उत्पादन भएको वन डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले खरिद गरेको ११ हजार ५०० वटा ओखर, सतुवा लगायत जातका बिरुवा आवेदन पेश गरेका कृषकहरुलाई वितरणको तयारी गरेको छ ।
“वनलाई आयआर्जन र उत्पादनसँग जोड्न निजी वन विस्तारमा जोड दिएका छौ,” उहाँले भन्नुभयो “घाँसबाट कृषकलाई आहरा आपुर्ति सहज हुने र उत्पादन लागत घटाउन सहयोग पुग्छ । फलफुल र जडिवुटी खेती गरेर आम्दानी गर्न सक्छन् ।”
भू तथा जलाधार संरक्षण कार्यालय पर्वतको बेनी स्थित सम्पर्क कार्यालयका प्रमुख शम्भुकुमार मिश्रले कार्यालयको कार्यक्रम बाहेक बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा पनि बिरुवा उत्पादन गरेको बताउनुभयो ।
वार्षिक कार्यक्रम अनुसार २० हजार, बेनी नगरपालिकाको आर्थिक सहयोगमा १८ हजार र रघुगंगा गाउँपालिकाको सहयोगमा १५ हजार बिरुवा उत्पादन भएको छ । स्थानीय तहको सहयोगमा उत्पादन भएको बिरुवा सम्बन्धित पालिकामा वितरण गरिने मिश्रले बताउनुभयो ।

राईखन्यु, निमारो, ईपिल ईपिल, क्यासियासिमिया र सुपर नेपियर जातका बहुबर्षे डालेघाँसका बिरुवा उत्पादन गरिएको छ । पहिरो, नदी कटानको जोखिम भएको ठाउँमा रोपिएको डालेघाँसबाट कृषकहरुलाई घाँस आपुर्ति गर्न प्रभावकारी बनेको छ । बाख्रा, गाईभैसी पालक कृषकहरु उत्पादन लागत घटाउन घाँस खेतीमा आकर्षित भएका छन् ।