images
images

१२ किमी सडक कालो पत्रे सम्झौता रद्द

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रको जिम्मा पाएको सूर्य कन्ट्रक्सनसँगको सम्झौता यही साता रद्द गरिएको आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् ।
२०७२ मा दुई वर्षलाई ठेक्का सम्झौता भएको थियो, सात वर्ष पूरा भइसक्दासमेत काम भएन, पाँचपटक म्याद थप गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको छ”, उहाँले भन्न’भयो ।
बागलुङ बजारबाट घोडाबाँधे सडकको दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरेका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्ने गरी प्रक्रिया अगाडि बढाइएकामा उपल्लो खण्ड बिहुँ घोडाबाँधे सडकको सम्झौता रद्द भइसकेको हो ।
बिहुँका नागरिकले चरणबद्धरूपमा निर्माण व्यवसायीका विरुद्धमा आन्दोलन गरेपछि आयोजनालाई र सरोकारवाला निकायलाई निर्माण व्यवसायीसँगको ठेक्का रद्द गर्न थप दबाब भएको थियो ।
बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो बिहुबाट घोडाबाँधे खण्डमा छ किलोमिटर सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको थियो । उक्त खण्डको पाँचपटक म्याद थप गर्दा जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।
यस्तै उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी रहेकाले उक्त खण्डको समेत ठेक्का रद्द गर्नका लागि आयोजनाले प्रक्रिया थालेको छ । उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो ।
उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नुपरेको छ ।