
म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत भुरुङ्गखोलामा बेलिब्रिज जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्ग खोलामा करिब रु. ३५ लाखको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान गर्न लागेको हो । सडक अन्तरगत मुस्ताङको लेतेखोलाको बेलिब्रिजलाई भुरुङ्ग खोलामा स्थानान्तरण गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो । बर्खा याममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलिब्रिज जडान गर्न लागिएको हो । सात दिनअघि शुरु भएको बेलिब्रिज जडानको काम यसै हप्ता सकिने आयोजनाले जनाएको छ । बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुल देखि पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलिब्रिज जडान गरेको थियो । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण –३ दाना स्थित रुप्से खोलामा ४५ मिटर लामो बेलिब्रिज जडानको काम भैरहेको छ ।