म्याग्दीका छ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु. तीन अरब ८२ लाख ८४ हजार बराबरको बजेट पारित गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले तोकेको असार १० गते भित्रै म्याग्दीका सबै पालिकाले नीति, कार्यक्रम र बजेट पारित गरेका हुन । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिएका स्थानीय तहहरुले केही नयाँ र नविन कार्यक्रम बनाएका छन् । समग्रमा म्याग्दीका स्थानीय तहहरुको जिल्लाभरको बजेट चालु वर्षकै हाराहारीमा रहेको छ । २०७९ असार १० गतेको गाउँनगरसभाबाट पनि म्याग्दीका पालिकाहरुले रु. तीन अरब ८२ करोडको बजेट ल्याएका थिए । संघीय सरकारको अनुदान घटेको तथा आन्तरिक आम्दानीमा संकुचनका बिच नागरिकका अपेक्षा र जनप्रतिनिधिको बाचालाई सन्तुलन कायम हुने गरि बजेट बिनियोजन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । बेनी नगरपालिकाले गत वर्ष रु. ७३ करोड २२ लाखको बजेट ल्याएको थियो । आगामी आवका लागि रु. ७० करोड ८९ लाखको बजेट ल्याएको बेनी नगरपालिकाले शिक्षा स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसँग सामाजिक, घरघरमा स्वास्थ्यकर्मी, हामी सक्छौ हामी गर्छौ, विपद्मा मेयर, आयआर्जन सुधार र सिप विकासका लागि उपमेयरसँग आमा समूह जस्ता नमुना कार्यक्रम सञ्चालन गर्ने उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति लिएको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ म उत्पादनका आधारमा पशुपालक कृषकलाई अनुदान दिन रु. १२ लाख बजेट बिनियोजन गरेको छ । रु. ४५ करोड ८१ लाखको बजेट पारित गरेको मालिका गाउँपालिकाले प्रशासकीय भवन, पालिका केन्द्र देखि वडा जोड्ने सडक स्तरोन्नति, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने लगायतका कार्यक्रम र योजनालाई प्राथमिकता दिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिएको धवलागिरी गाउँपालिले रु. ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । धवलागिरीका उपाध्यक्ष रेशम पुन मगरले हालसम्म सडक नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित वडा नम्बर १ मा पर्ने गुर्जालाई सडक सञ्जालसँग जोड्न सबैभन्दा बढी रु. दुई करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो । पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको अन्नपूर्ण गाउँपालिकाले रु. ५३ करोड ५४ लाख ४३ हजार ६०० को बजेट पारित गरेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । एक वडा एक गौरवको आयोजनाका रुपमा सडक स्तरोन्नति गर्ने कार्यक्रम बनाएको अन्नपूर्णले यातायात पूर्वाधार निर्माण गर्न रु. चार करोड ६४ लाख ५६ हजार बिनियोजन गरेको छ । गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । पशुपालन, उद्योग, व्यापार, पर्यटनको प्रवद्र्धन, विकास आयोजना मार्फत रोजगारी सिर्जना सँगै शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, खानेपानीको पहुँच विस्तार र सडकको स्तरीकरणमा जोड दिएको रघुगंगा गाउँपालिकाले रु. ४३ करोड ५७ लाख ८७ हजार ६०० को बजेट पारित गरेको उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो । मंगला गाउँपाकिलाका उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले रु. ४४ करोड ८१ लख ११ हजार ७०० बराबरको बजेट पारित भएको बताउनुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा जोड दिएको मंगला गाउँपाकिलाको प्रशासकीय भवन बनाउन जग्गा खरिद गर्न सबैभन्दा बढी रु. दुई करोड बिनियोजन भएको छ ।