मनसुन समयमा शुरु हुन नसक्दा पर्वतमा धान रोपाईमा समस्या भएको छ । असारको पहिलो साता बितीसक्दा पनि मनसुन सक्रिय नहुँदा पर्वतका किसानहरुले समयमा धान रोप्न नपाएका हुन् ।बर्षातको समस्याका कारण धान रोपाईमा समस्या भएपछि कटुवाचौपारीका किसानहरुले भने ट्याक्टरमा पानीको ढुवानी गरेर धान रोपाई गर्न बाध्य भएका छन् । असारको पहिलो साता झण्डै २५ प्रतिशत रोपाई सम्पन्न हुनुपर्नेमा हालसम्म जम्मा १५ प्रतिशत रोपाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले बर्षात नहुँदा धान रोपाईमा समस्या परेको जनाएको छ । विगतका कतिपय बर्षहरुमा पनि धान रोपाईमा बर्षातका कारण समस्या पर्दै आएको थियो । यस बर्ष पनि धान रोपाईमा समस्यामा समस्या परेको केन्द्रले जनाएको छ । जिल्लामा कतिपय स्थानहरुमा आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यतामा कृषकहरु पुगेको ज्ञानकेन्द्र प्रमुख मनिता थापाले जानकारी दिनुभयो । धान रोपाईका लागि सिंचाइको उपलब्धता नभएको र मुलको पानीको भर पर्नुपर्ने ठाउँमा किसानहरुले धान रोपाई शुरु गर्न नसकेको उहाँको भनाई थियो । सिमखेतहरुमा अझै धान रोपाई शुरु नभएको जानकारी दिदै थापाले टार र फाँटहरुमा पनि सिंचाईको अभाव देखिएको बताउनुभयो । खोलाहरुबाट सिंचाईको प्रवन्ध भएका केहि स्थानहरुमा मात्र असारको पहिलो साता रोपाई भएको र बाँकी स्थानहरुमा धान रोपाईमा समस्या भएको उहाँको भनाई थियो । समयमा धान रोपाई नहुँदा उत्पादनमा समेत समस्या पर्ने देखिएको छ ।