
म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । हिउदमा धुलो र बर्खायाममा हिलोका कारण वर्षौदेखि सास्ती भोग्दै आएका पिप्ले र भगवतीका स्थानीयहरु सडक धमाधम कालोपत्रे हुन थालेपछि उत्साहित भएका हुन् । डेढदशक देखि धुलो र हिलो सडकका कारण निकै सास्ती भोगेको स्मरण गर्दै स्थानीय मिठु परियारले सडक कालोपत्रे भएसँगै धुलो र हिलोको समस्या हट्ने, भाडादर घट्नुका साथै गाउँको सुन्दरता पनि थपिने भएपछि उत्साहित भएको बताउनुभयो । ट्रयाक खुलेको १६ वर्ष पछि वडा नम्बर ३ को पिप्लेको स्कुल चोकदेखि २ को भगवती मैदानसम्म साढे चार किलोमिटर सडक कालोपत्रे योजना अगाडी बढाइएको हो । विसं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख आठसय ३८ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम अन्तरगत सडक कालोपत्रेका लागि बजेट विनियोजन भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार दशमलब ५ किलोमिटर सडकमा बेस र सबवेसको काम सकेर कालोपत्रे गर्नका लागि प्राइमकोट बिछ्याउन थालिएको बताउनुभयो । असार मसान्तसम्म सडक कालोपत्रेको सम्पूर्ण काम सक्ने गरी कामलाई तिव्रता दिइएको निर्माण व्यवसायीका तर्फका इन्जिनियर रामु कँडेलले बताउनुभयो । दुईवर्ष भित्र सम्पन्न गर्नुपर्ने उक्त योजना निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुईवर्ष ढिला गरी सम्पन्न हुन लागेको हो