
बर्षात् र गर्मी बढेपछि धौलागिरि अस्पताल बागलुङमा डेंगीका शंकास्पद बिरामी देखिन थालेका छन् । कतिपय बिरामीलाई डेंगी भएको आशंकामा सोही प्रकारको उपचार गरिएको छ ।
शंकास्पदहरुको रगतको परीक्षण थालिएको स्वास्थ्यकर्मीले बताएका छन् । बर्षात् लागेपछि डेंगी रोगको संक्रमण बढेर जाने भएकोले बागलुङ नगर स्वास्थ्य शाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।चालु बर्ष बागलुङमा १ सय ५९ जनामा डेंगी लागेको थियो । यो रोगको छुट्टै उपचार नभएकोले लक्षणको आधारमा उपचार गर्ने गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । उहाँले पानी जम्ने स्थानमा सरसफाइ गर्ने, टायर, ड्रम, गमला लगायतका पानी जमाएर राखिएका भाँडा खाली गर्ने, लामखुट्टेबाट बच्न झुल टाँगेर सुत्ने जस्ता सचेतना अपनाउन आग्रह गर्नुभयो । खनालले डेंगी रोग लागेपछि शरीर दुख्ने, ज्वरो आउने समस्या बढी हुने बताउनुभयो । उहाँले दिउँसोको समयमा लामा बाहुला भएको कपडा लगाउन तथा रातमा झुल टाँगेर सुत्न सुझाव दिनुभयो ।