
म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीको कुण्डको सौन्दर्यकरणको काम शुरु भएको छ । पर्यटन वोर्ड पोखराको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सौन्दर्यकरणको काम शुरु गरेको हो । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कृष्ण खड्काले कुण्ड परिसरका भौतिक संरचनालाई मौलिक, आकर्षक र वरपर बगैचा बनाएर सौन्दर्यकरण गर्न थालिएको बताउनुभयो । “पहिलो चरणमा यसबर्ष मौलिकता झल्कने प्रवेशद्धार र कपडा फेर्ने ठाउँ बनाउन लागेका छौ,” उहाँले भन्नुभयो “बजारदेखि कुण्डमा जाने पैदलमार्गको वरपर र पाखोमा फुल रोपेर बगैचा बनाइसकेका छौ ।” शरिर डुबाएर स्नान गर्ने तलाउमा जाने प्रवेशद्धारलाई मौलिक बनाउन भक्तपुरे इटाको प्रयोग गरिएको सचिव खड्काले बताउनुभयो । स्नानपछि कपडा फेर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाउन लागिएको समितिले जनाएको छ । पर्यटन वोर्ड पोखराका सहायक प्रमुख नवराज पोखरेलले यस वर्ष तातोपानी कुण्डको सौन्दर्यकरण गर्न रु. १५ लाख बजेट बिनियोजन भएको बताउनुभयो । कुण्ड समितिको थप रु. तीन लाख लागत साझेदारीमा सौन्दर्यकरणको काम शुरु भएको हो । आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बोर्डले जनाएको छ । दाताको सहयोगमा कुण्ड व्यवस्थापन समितिले यसअघि जलमाई मन्दिर र वुद्धको मुर्ति सहितको स्तम्भ निर्माण गरेका थिए । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा पाहुनाहरु आउने गर्छन् ।