images
images

खुला दिसा मुक्त घोषणा भइसकेको जिल्लामा शौचालय बिहिन

बागलुङ जिल्ला खुला दिसा मुक्त घोषणा भएकोे दश वर्ष पुरा भइसक्दा समेत यसले पुर्णता सकेको छैन । खुला दिसा मुक्त घोषणा भइसकेको जिल्लामा शौचालय बिहिन परिवार समेत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा हाल ८ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको छ । सबै घरमा शौचालय निर्माण गरेर खुल्ला दिसा मुक्त बागलुङ जिल्ला २०७० सालमा घोषणा भएपनि अझै केही घर परिवारले शौचालय बिहिन रहेको तथ्याङ्कले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार बागलुङ जिल्लामा रहेका ६४ हजार १ सय ५३ घर परिवार मध्ये ८ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिनुभयो । जिल्लामा जम्मा १ सय ६७ सार्वजनिक शौचालय रहेकोमा सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार ८ सय ६५, सेफ्टी ट्याङ्की भएका ४७ हजार २ सय ६४ परिवार तथा साधारण खाल्टे शौचालय रहेका १३ हजार ९ सय ४२ घर परिवार रहेको जनगणनामा उल्लेख गरिएको छ । दुर्गम स्थानमा कतिपय खाल्टे शौचालय भत्किने, पहिरोले लैजाने, बाढीले पुर्ने र घर परिवार छुट्टीने कारणले घरमा शौचालय नभएका केही घरहरु अझै कायम रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका प्रमुख तुल्सी बस्नेतले जानकारी दिनभयो । घरमा शौचालय नभए पनि सार्वजनिक तथा सयुक्त रुपमा प्रयोग गर्ने परिवारसमेत रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ । जिल्लामा तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको छ ।