
म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा शिविर भएको थियो । तीन वटा वडामा १७ जनालाई डिजिटल (विद्युतीय) परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । शिविर मार्फत वडा नम्बर २ मा एक जनालाई (क), चार जनालाई (ख) र एक जनालाई (ग) बर्गको परिचयपत्र प्रदान गरिएको छ । यसैगरी वडा नम्बर १० मा एक जनालाई (क), तीन जनालाई (ख) र एक जनालाई (ग) बर्गको अपाङ्ग परिचयपत्र वितरण भएको छ । वडा नम्बर ९ मा चार जनालाई (ख) र दुई जनालाई (ग) बर्गको परिचयपत्र वितरण भएको छ । अपाङ्गता पहिचान र प्रमाणिकरण गर्न चिकित्सक सहित घुम्ति शिविर सञ्चालन गरेको नगरपालिकाले हिडडुल गर्न नसक्नेलाई घरमै पुगेर परिचयपत्र दिएको छ ।