
बजेट अभावमा पर्वत जिल्लाका एक दर्जन बढि आयोजनाहरुको निर्माण कार्य अलपत्र परेको छन् । चालु आर्थिक बर्षका लागि विनियोजन भएको बजेट समेत संघ तथा प्रदेशबाट खानेपानी कार्यालयमा प्राप्त नहुँदा आयोजना सम्पन्नको अन्तिम चरणमा पुगेका आयोजनाहरुको समेत काम रोकिएको छ । जिल्लामा खानेपानीको चरम समस्या बेहोरीरहेका विहादी गाउँपालिकाको रानीपानी, बर्राचौर र शालिग्राममा बजेट अभावका कारण आयोजनाको काम रोकिँदा यस बर्ष पनि स्थानीयले खानेपानी उपभोग गर्न नपाउने देखिएकोछ । विहादी गाउँपालिकाका पूर्व अध्यक्ष कमल भुषालले आयोजना सम्पन्नको अन्तिम चरणमा बजेटको अभाव हुँदा खानेपानीको समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले खानेपानी जस्तो संवेदशिल क्षेत्रमा सरकारले बजेट उपलब्ध गराउन वेबास्ता गरेको भन्दै तत्काल रकम उपलब्ध भए विहादीका लिप्टिङ खानेपानीका आयोजनाहरु सम्पन्न हुने बताउनुभयो । रकमको अभावमा जिल्लाको सवै भन्दा धेरै खानेपानीको समस्या रहेको विहादीको शालिग्रामका नयाँ निर्माण गरिएको ट्यांकीहरु समेत चर्किएर भत्कन सक्ने जोखिम बढेको स्थानीयबासीहरु बताउँछन् । खानेपानी आयोजनाको लागि संघीय सरकारबाट बजेट उपलब्ध नहुँदा बजेट उपलब्ध गराउन नसकिएको संघीय खानेपानी तथा सरसफाई आयोजना पोखराका प्रमुख कुलप्रसाल पौडेलले जानकारी दिनुभयो ।