images
images

नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएकाले सबैले चासो दिनुपर्ने बताए

‘स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको सुधार र विकासका लागि सबैले चासो दिनु आवश्यक छ । स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि पनि सबैले ध्यान दिनुपर्छ ।’ उनले धौलागिरि अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले आफ्नो तर्फबाट पहल गरिरहेको बताए ।

‘धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाउनका लागि हामीले मुख्यमन्त्रीज्यूसंग कुरा राखेका छौं,’ उनले भने,‘यहाँ दरबन्दी थप गर्नेदेखि भौतिक पूर्वाधारको निर्माणका विषयहरुलाई गम्भीरताका साथ लिएका छौं ।’ सबैको सहयोगबाट अस्पतालको विकास हुने भन्दै उनले अस्पतालले समन्वय गर्दै अगाडि बढ्नुपर्ने र नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्यायले स्वास्थ्यकर्मीलाई राज्यले उच्चकोटीमा राखेर सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए । ‘मानवीय जीवन बचाउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई राज्यले उच्चकोटीमा राखेर सम्बोधन गर्नुपर्छ उनले भने विभिन्न समयमा आएका महामारीमा स्वास्थ्यकर्मीले देखाएको कुशलता उच्च प्रशंसा गर्न लायक छ ।’ कार्यक्रममा स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष देवप्रकाश घिमिरे र सञ्चालन जिल्ला सचिव शिव केसीले गरेका थिए ।