
पर्वत २३, जेष्ठ,
कृषि ज्ञान केन्द्र कार्यालय पर्वत गण्डकी प्रदेश मातहतका कार्यालयमध्ये गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेको छ । गत फागुन चार गते प्रदेश स्थापना भएको दिवसको अवसर पारेर छनोट भएको कार्यालयलाई पोखरामा भएको एक कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले नगद ६० हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गर्नु भएको थियो । २०७७ सालमा पनि प्रदेश मातहतका कार्यालयमध्ये प्रदेशमा उत्कृष्ट बनेको ज्ञान केन्द्रले उच्च वित्तीय प्रगति, समूह कार्य, सेवा प्रवाहमा चुस्तता र प्रभावकारिता, पारदर्शिता, नियमितता, सुशासनका औजारहरूको उच्चतम प्रयोग, शून्य बेरुजु, कार्यालय सरसफाइ, सेवाग्राही प्रतिको व्यवहार लगायतमा उत्कृष्ट हुँदै कार्यालय उत्कृष्ट बनेको हो । कार्यालय छनोट गर्नका लागि सेवा प्रवाह र कार्यप्रतिको अवस्थामा ४०, आर्थिक अनुशासनमा ३०, भौतिक संरचना र कार्यालय व्यवस्थापनमा १२, नवीनता र सृजनशीलतामा १४ तथा कर्मचारी अनुशासन र आन्तरिक नियन्त्रणमा चार अंक गरी कुल एक सय पूर्णांकमा कार्यालयहरूको मूल्याङ्कन गरिएको थियो ।प्रदेश सरकारले मन्त्रालय तथा प्रदेशस्तरका एक र प्रत्येक जिल्लाका कार्यालय मध्येबाट एक नमुना कार्यालय छनोट गर्ने व्यवस्था गरेको छ । सर्वोत्कृष्ट बनेको कार्यालयले थप ३० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था अनुसार कृषि ज्ञान केन्द्र पर्वतले ६० हजार रुपैयाँ पुरस्कार पाएको हो ।