
बागलुङ, २३ जेष्ठ
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्र हुन सकेको छैन तर अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ । समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्न मध्यपहाडी राजमार्ग निर्देशनालयमा पठाउने तयारी गरिएको उक्त कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो । ‘दुई वर्षमा सक्ने काम पटक–पटक म्याद थप गर्दा समेत नसक्नु भनेको चरम लापरबाही हो दुवै ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ उहाँले भन्नुभयो । दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्न नसक्दा उक्त कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाएको हो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरिएका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । यस्तै बिहूँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । हालसम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असारसम्म भए पनि ठेक्का रद्द गर्न लागिएको हो । काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाइने र निर्देशनालयले सडक विभागमा लगेर ठेक्का रद्द गरी नयाँ ठेक्का आह्वान गर्ने छ । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको छ । अहिले बिहूँमा दैनिकजसो निर्माण व्यवसायीविरुद्ध स्थानीयवासीले विरोध जनाएर आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको स्थानीयवासी खिमानन्द कँडेलले जानकारी दिनुभयो । यसैबिच मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा स्थानीयले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले ऐक्यवद्वता जनाएको छ । काममा ढिलासुस्ती, चरम लापर्वाही गर्ने कम्पनीको ठेक्का प्रक्रिया रद्ध गरी तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन माग गर्दै एमालेले आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।
जिल्ला अध्यक्ष हिराबहादुर केसीले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दे सरकारले उक्त सडकको ग्रावेल तथा कालोपत्रेका लागि विभिन्न खण्डहरू विभाजन गरि ठेक्का प्रक्रियामा संचालन गरेको पनि वर्षौ भन्दै बागलुङ बजारदेखि घोडाबाँधे खण्डको अधिकांश भाग अझै कालोपत्रे हुन नसक्नु दुखद भएको बताउनुभयो ।झण्डै ३० वर्ष अघिदेखि निर्माणाधिन अवस्थामा रहेको नेपाल सरकारको गौरवको आयोजना मध्यपहाडी लोकमार्ग हालसम्म निर्माणाधिन रहेको बिज्ञप्तीमा उल्लेख छ ।