images
images

बाढीले बगाएर महिलाको मृत्यु

म्याग्दी,
जेष्ठ २२ ,
म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको गम्फु जंगलमा बाढीले बगाउँदा सोमबार एक महिलाको मृत्यु भएको छ । रघुगंगा–६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पुष्टि गर्नुभयो । उहाँका अनुसार घास काट्न जंगल गएकी शेरपुञ्जा पानी परेपछि ओत लाग्न खोल्साको छेउमा बसेको अवस्थामा माथिबाट एक्कासी आएको बाढीले बगाएर लगेको हो । शेरपुञ्जाको शव गम्फु खोलामा भेटिएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोर्वद्धन दुराको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय बेनीबाट पनि प्रहरीको थप टोली घटनास्थलतर्फ गएको छ । यसैगरी वर्षाको पानीले रघुगंगा गाउँपालिका –८ कुइने मंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । सोमबार दिउँसो म्याग्दीको उत्तरी क्षेत्रमा भिषण बर्षा भएको थियो ।