जेष्ठ २२,
बागलुङ,
छुवाछुत अन्त्यको घोषणा गरेको १८ बर्षसम्म पनि नेपाली समाजमा जातीय बिभेद कायमै रहेको सरोकारवालाले बताएका छन् । राज्यले घोषणा गरेपछि पनि नेपालको राजनीतिक क्षेत्र, सामाजिक क्षेत्र र सार्वजनिक क्षेत्रमा बिभेद कायम रहेको भन्दै सरोकारवालाले अब कानूनले मात्र नभई व्यवहारमा परिवर्तन आउनुपर्ने बताएका थिए । बागलुङमा आयोजना गरिएको १८ औं जातीय बिभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको अबसरमा आयोजित संविधानमा भएका व्यवस्था, अबसर र चुनौती तथा कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रियामा सहभागीले कानूनलाई व्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अधिवक्ता राम शर्माले कार्यपत्र प्रस्तुत गर्दै बिद्यालय, मठमन्दिर, सामाजिक र राजनीतिक क्षेत्रमा बिभेद देखिएको बताउनुभयो । उहाँले हिन्दु धर्ममा बढी जातीय बिभेद रहेको, बस्तुको सेवामा बिभेद भएको र बिभेद अन्त्यमा ब्राम्हण क्षेत्री तयार नभएको बताउनुभयो । कार्यपत्रमा टिप्पणी गर्दै सिताराम रसाइली र काजी गाउँले श्रेष्ठले बिभेदको व्यवस्था मानिसले बनाएको भन्दै धर्म र संस्कृतिलाई गाली गरेर नहुने बताउनुभयो । कार्यक्रममा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का लगायतले मंतव्य व्यक्त गर्नु भएको थियो । संयुक्त दलीत संघर्ष समिति बागलुङका अध्यक्ष टिकाकुमारी बिकको अध्यक्षता र निरबहादुर बिकको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीले बिभेदका धेरै अवस्थाबारे गुनासो सुनाएका थिए ।