धौलागिरी एफएम द्वारा आयोजित रेडियो उद्घोषण, पत्रकारीता तालिम सम्पन्न

बागलुङ, १९ जेष्ठ

सञ्चार क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउनका लागि धौलागिरी एफएम बागलुङले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारीता तथा प्राबिधिक तालिम शुक्रबार सकिएको छ । निर्धारित समय भन्दा दुई दिन थप गरेर तालिमको समापन गरिएको हो ।

तालिमको शुक्रबार बिहान एक समारोहका बीच समापन गर्दैै धौलागिरी एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमले सञ्चार क्षेत्र फराकिलो हुँदै गएको तर जनशक्तिको अभाव हुन थालेको बताउनुभयो । नयाँ पुस्ताले सञ्चार क्षेत्रमा रहेको अबसरलाई पछ्याउन नसक्दा जनशक्ति अभाव हुन थालेको उहाँको भनाई छ । पहिले पहिले जस्तो सञ्चार क्षेत्रमा चुनौती मात्रै नरहेको भन्दै गौतमले अबसरहरुलाई उपयोग गर्न आग्रह गर्नुभयो ।

गौतमले रेडियो उद्घोषण तथा पत्रकारीता तालिमले यो पेशामा लाग्नका लागि मात्रै नभएर जीवन यापनका हरेक कृयाकलापमा सहयोग गर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा पत्रकार महासंघका सचिव बिजय रानाले पत्रकारीता क्षेत्र पनि अन्य रोजगारीका क्षेत्र जस्तै भविश्य बोकेको क्षेत्र भएको बताउनुभयो । रानाले नयाँ पुस्ताले पुरानो पुस्ताले भन्दा नयाँ र द्रुत गतिको बिचार राख्नुपर्नेमा जोड दिनुभयो ।

गत जेठ १० गतेदेखि सुरु भएको तालिममा १५ जना सहभागि थिए । तालिमको सहजीकरण एफएमका पूर्व स्टेशन म्यानेजर रामकृष्ण शर्मा, सम्पादक ताराप्रसाद शर्मा, पत्रकार प्रकाश बाराल, राम थापा, कोपिला कँडेल, तारानाथ आचार्य र कृष्ण संयोगले गर्नुभएको थियो ।

अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रशिक्षकहरु प्रकाश बराल, कोपिला कँडेल, प्रशिक्षार्थीको तर्फबाट सुशिला पौडेल, सागर सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम धौलागिरी एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत मन्तव्य र तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।