राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

रघुगंगा गाउँपालिकामा नौ वर्ष अघि निर्माण सुरु गरिएको आयोजना ढिला गरी सम्पन्न हुन लागेको हो ।

पहिलोपटक २०७१ मा सुरु गरिएपनि निर्माण व्यवसायीले ठेक्का तोडेपछि कम्पनी मोडेलमा लगेर पुन २०७४ बाट आयोजना निर्माण थालिएको थियो ।

आयोजना निर्माण गर्ने ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सम्पन्न गर्न ढिलाइ भएको हो ।

सम्झौताको चौथो पटक म्याद थपेर आयोजना सम्पन्न गर्न लागिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको यस आयोजनाको अहिले ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सुरुङ, बाँध र विद्युतगृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेसँगै आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो ।

आगामी जेठभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य सहित निर्माण भएका भौतिक संरचनाको परीक्षणको तयारी गरिएको छ ।

सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलका संरचना निर्माण र उपकरण जडान सकेर फिनिसिङ भइरहेको उहाँले जानकारी दिनुभयो ।

सुरुङमा पस्ने चारवटा प्रवेशमार्ग बन्द गराएपछि पानी भरेर परीक्षण गर्ने योजना रहेको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मङ्सिर ६ गते छ अर्ब रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।आयोजनाको २०२५ नोबेम्बरसम्मका लागि तेस्रोपटक म्याद थपिएको थियो ।

तेस्रो पटक थपिएको समय अवधिमा आयोजना सम्पन्न हुन नसकेपछि चौथो पटक म्याद थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको आयोजनाले जनाएको छ ।