हिमाल शर्माको मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माको पुर्नवाहाली मुद्दामा उच्च अदालत पोखरा बागलुङ इजलाशले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बागलुङ नगर खानेपानी संस्थाको हित विपरित कार्य गरेको भनि संस्थाको २०८० साउन ३२ गते बसेको बैठकले शर्मालाई प्रबन्धक पदबाट बर्खास्त गरेपछि शर्माले उच्च अदालत बागलुङमा निर्णय सच्चाउदै पुर्नवाहालीको माग गर्दै मुद्दा दर्ता गराउनुभएको थियो ।

शर्माको मुद्दामा न्यायाधिशद्वय नातिबाबु लामिछाने र यज्ञबहादुर रानामगरले बुधबार विपक्षिलाई लिखित जवाफ माग्दै अन्तरिम आदेश नदिएको हो ।

योसँगै शर्मा तत्कालका लागि नगर खानेपानीमा फर्कनबाट बन्चित हुनुभएको छ । उक्त मुद्दामा लिखित जवाफ पेश भएपछि मात्रै फैसला हुनेभएको छ ।

शर्माको पक्षमा वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ र अधिवक्ता उमा शंकर सापकोटाले बहस गरेका थिए ।

बागलुङ नगर खानेपानी समिति तथा बागलुङ नगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद न्युरे, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्मा, अधिवक्ता निरन्जनलाल राजभण्डारी, अधिवक्ता भुमिश्वर गौतम, अधिवक्ता केशव पराजुली, अधिवक्ता राम शर्मा, अधिवक्ता हरिकृष्ण गौतमले बहस गरेका थिए ।