
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ ।
घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ्याट्ट फुट्टमात्रै देखिन थालेको छ । पुर्खादेखि पालिदै आएको कालो तंग्रामे सुँगुरको बिउँ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर कालो सुँगुरको व्यावसायिक रुपमा पाल्न थालेका छन् ।
व्यावसायिक रुपमा आयातित बंगुरपालन र कृत्रिम गर्भाधारणको चलन आएपछि यहाँको स्थानीय जातको कालो सुँगुर लोप हुँन थालेको छ । तंग्राम धारा गाउँ निवासी ४२ वर्षका भुवन बहादुर थापा पछिल्लो ५ वर्षदेखि व्यवसायीक रुपमै कालो सुँगुर पाल्न थाल्नु भएको छ ।
१० वर्ष मलेसियामा बस्नुभएको थापाले कालो सुँगुरलाई व्यावसायिक बनाउने योजनामा रहेपनि पाठापाठी बचाउनै हम्मे परेको उहाँको भनाई छ ।
पशु प्राविधिहरुबाट समेत पटक–पटक पाठापाठी बचाउने प्रयास भएपनि समस्या भइरहेको उहाँको भनाई छ । कृक्रिम गर्भाधारणका कारण अहिले आयातित बंगुरपालनले गाउँका रैथाने जातको कालो सुँगुर लोप पाइन छोडेपछि कालो सँगुरको भाउ समेत उच्च रहेको छ ।
काठेखोला गाउँपालिका–४ तंग्रामका पशु प्राविधिक लक्ष्मण थापाले स्थानीय जातको सुँगुर संरक्षणमा चुनौती रहेको बताउनुभयो । उहाँले उक्त जातको सुँगुर अन्त नपाइने भएकाले हाडनाता गर्भाधारणका कारण पाठापाठीमा समस्या आइरहेको बताउनुभयो ।
पाँच पुस्ता फरक पर्नेगरी गर्भाधारण गराउन सकेमा मात्रै राम्रो पाठापाठी उत्पादन गर्न सकिने पशु प्राविधिकको भनाई छ । स्थानीय कालो सुँगुरको मासु थोरै हुने र पाल्न धेरै समय लाग्ने भएकाले व्यावसायिक बंगुरपालनमा यहाँका मगर समुदायहरु लागेपछि स्थानीय सुँगुर ओझेलमा परेको हो ।
उहाँले हाल सम्म सुँगुर पालनमा रु. पाँच लाख लगानी गरेको बताउदै काठेखोला गाउँपालिकाले रु. एक लाख ५० हजार अनुदान समेत दिएको किसान थापाले बताउनुभयो ।