images
images

दलित समुदायले उत्पादन गरेको दुध सङ्कलन नगरे कारबाही गरिने काठेखोला गाउपालिकाको चेतावनी

बागलुङको काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दुध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।

काठेखोला गाउँपालिकामा दुध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको जानकारी दिदै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरूको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दुध सङ्कलन केन्द्र स्थापना गर्ने बताउनुभयो । काठेखोलाको दुध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ ।

पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो बढेकाले गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको उहाँको भनाई रहेको थियो । जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारले विसं २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषाण गरेको थियो । छुवाछुतमुक्त राष्ट्र घोषाण गरेको दुई दशक बितिसक्दा पनि नेपाली समाजमा अझै छुवाछुत र जातीय विभेद कायमै रहनु दुखद बिषय भएको उहाँको भनाई थियो ।