
मुस्ताङका स्थानीयवासि चिसो छल्न बेंसी झर्न थालेका छन् । स्थानीयवासि चिसो छल्न बेंसी झर्न थालेपछि उपल्लो मुस्ताङ सुनसान हुन थालेको छ । दैनिकजसो चिसो बढ्दै जान थालेपछि मुस्ताङवासी चिसो छल्न र त्यसबाट बच्नका लागि बेंसीतर्फ झर्न थालेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै ८० प्रतिशत स्थानीयवासी चिसो छल्न बेंसी झरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । तल्लो मुस्ताङबाट पनि ५० प्रतिशतको हाराहारीमा स्थानीय सर्वसाधारणहरु चिसो छल्न बेंसी झरिसकेको उहाँले जानकारी दिनुभयो ।
अहिले पर्यटनका लागि अफसिजन भएकाले पनि मुस्ताङीहरु बेंसी झरेका हुन् । बेंसी झरेका मुस्ताङीले घर तथा होटलमा घरकुरुवा राखेर आफूहरु बेंसी झरेको र लेकलेकमा रहेका भेडीगोठहरु समेत घरको छेउछाउमा सारेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।
अहिले उपल्लो मुस्ताङमा घर कुर्ने कामदारहरु, भेडा गोठाला र जेष्ठ नागरिकहरु मात्रै देखिन थालेको उहाँको भनाई थियो । विगतको समयमा कात्तिक महिनामै बेंसी झर्ने गरेका मुस्ताङीहरु यसपटक भने कोरला नाका खुलेपछि बेंसी झर्न ढिलाई भएको थियो ।उपल्लो मुस्ताङमा गएको असोज अन्तिम हप्तादेखि नै चिसो बढ्न थालेको हो ।
अहिले मुस्ताङको तापक्रम दिनप्रतिदिन घट्दै गैरहेको जनाइएको छ । चिसो छल्न बेंसी झरेका मुस्ताङीहरु गर्मीयाम सुरु भएपछि फागुन, चैत महिनामा मात्रै जिल्ला फर्कने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो