images
images

बेनी गलेश्वर खण्डमा पाँच महिनामा ८० प्रतिशत भौतिक प्रगति

कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नम्बर ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा पाँच महिनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ । जिल्लामा भित्रिएका ठुला योजनाहरूमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको कामले चौतर्फी प्रशंसा बटुलेको बेनी छ ।
बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी– गलेश्वर रहेको बताउनुभयो ।  उहाँका अनुसार २०७९ माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकिएको छ ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र मजदुर परिचालन गरेर साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तल माथि पर्खाल, चारवटा कल्भट, दुई सय मिटर आरसीसी ढलानको काम सकिएको बताउनुभयो । दुई किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि कम्पनीले भ्याट पिएससहित रु. १२ करोड ७५ लाख ९४ हजार ४३६ मा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीविच सम्झौता भएको थियो ।