बागलुङ। बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला एकैसाथ प्रयोग विहीन बनेका छन् । गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका प्रयोगशाला साउन यता जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेका हुन् ।
गाउँपालिकाले हिल, अर्गल र अमरभूमि स्वास्थ्यचौकीमा स्थापना गरेको प्रयोगशालामा प्रयोगशाला सहायक कर्मचारी नियुक्ती गर्न नसक्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ । चार वर्षदेखि सञ्चालमा आएका तीन प्रयोशालाका लागि आवश्यक उपकरण भएपनि जनशक्ति नियुक्त गर्न गाउँपालिकाले नसक्दा नागरिलाई सेवा दिन नसक्दा सास्ती खेप्नु परेको छ ।
स्वास्थ्य चौकीमै प्रयोशला स्थापना हुँदा रगत, दिसा र पिसाव परिक्षण गर्दा रोगको पहिचान र निदानमा सहयोग पुग्ने गरेको भएपनि साउन यता प्रयोशाला सञ्चालनमा आउन नसक्दा सेवा प्रभावित बनेको ताराखोला गाउँपालिका–३ हिल स्वास्थ्य चौकीका अनमी कोपिला विकले जानकारी दिनुभयो ।
उहाँले जनशक्ति अभावमा प्रयोगशाला सेवा र भिडियो एक्सरे सेवा दिन नसक्दा बिरामी रिफर गरेर गलकोट नगर अस्पताल पु-याउनुपर्ने अवस्था आएको बताउनुभयो । आकश्मिक सेवाका लागि प्रयोशालामा परिक्षण गर्नका लागि ताराखोला स्वास्थ्य चौकीबाट ल्याव असिस्टेन्ट बोलाएर परिक्षण गर्ने गरेको विकले बताउनुभयो ।
यस्तै तालिम प्राप्त जनशक्ति सरुवा भएपछि गर्भवतीका लागि गरिने भिडियो एक्सरे सेवा समेत हिल स्वास्थ्य चौकीले प्रदान गर्न नसकेको हो । हिल संगै अर्गल र अमरभूमी स्वास्थ्य चौकीमा समेत स्थापना गरेका प्रयोगशाला कर्मचारी अभावमा सञ्चालनमा आउन नसकेको बताइएको छ ।
गाउँपालिका भरमा पाँच नम्बर वडाको ताराखोला स्वास्थ्य चौकीमा मात्रै प्रयोशाला सञ्चालनमा आएको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिनुभयो ।

धौलागिरी टेलिभिजन 











