बडिगाड गाउँपालिकामा कार्तिकबाट डायलासिस सेवा सुरु हुने

बागलुङको बडिगाड गाउँपालिकाले आगामी कार्तिक देखि मृगौलाका रोगीहरुका लागि डायलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ ।

बडिगाड गाउँपालिका –५ ग्वालीचौरमा नवनिर्मित १५ शैयाको आधारभूत अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने पालिकाले तयारी थालेको हो ।

होमोडायलाईसिस सेवा संचालनको लागि सघिंय सरकारले आवश्यक सम्पूर्ण उपकरणहरु सहयोग गरेको र पालिकामा आईपुगेकाले कार्तिकबाट सेवा सञ्चालन गर्ने गरी तयारी गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

लामो र अथक प्रयासपछि सेवा सञ्चालन गर्न सफल भएकोमा अध्यक्ष थापाले खुसी व्यक्त गर्दै सम्पूर्ण बडिगाडबासीका लागि यो खुसीको खबर रहेको बताउनुभयो ।

यसका लागि सहयोग गर्ने नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ लगायतप्रति उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसअगाडी मृगौला बिरामीहरु डायलासिसका लागि बागलुङ, पोखरा, बुटबल लगायतका सहरहरुमा जानुपर्ने बाध्यताकाबीच यो सेवा बडिगाड मै सञ्चालनमा आएसंगै बडिगाडसंगै, गलकोट, ढोरपाटन, निसीखोला, तमानखोला, गुल्मी जिल्लाका केही स्थानीय तहका नागरिकहरुले सेवा लिन सक्ने थापाको भनाई थियो ।

बडिगाड गाउँपालिकामा डाइलाइसिस सेवा सञ्चालनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच सम्झौता भएको छ ।