बागलुङमा पाँच हजार ८ सय ७२ घर बाढी पहिरोको जोखिममा

बागलुङ । यस वर्षको मनसुनमा बागलुङ जिल्लामा पाँच हजार ८ सय ७२ घर बाढी पहिरोको जोखिममा परेका छन् ।

यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो ।

जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सहजकता अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ ।

अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले वर्षातको समयमा बाढी पहिरोको जोखिममा पर्ने गरेका छन् ।

जिल्लामा सबैभन्दा बढी निसीखोला गाउँपालिकाका दुई हजार ४ सय ३८ घर बाढी पहिरोको जोखिममा रहेका समितिले जनाएको छ ।

सबैभन्दा कम जैमिनी नगरपालिकामा १६ घर जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बागलुङ नगरपालिकामा एक हजार ५ सय ५४, ढोरपाटन नगरपालिकामा ३ सय ९०, गलकोट नगरपालिकामा १ सय २५, बरेङ गाउँपालिकामा २ सय १०, बडिगाड गाउँपालिकामा १ सय ६०, तमानखोला गाउँपालिकामा १ सय १५, ताराखोला गाउँपालिकामा १ सय ४४ र काठेखोला गाउँपालिकामा ७ सय २० घर बाढी पहिरोको जोखिममा परेका हुन् ।

घरसँगै विद्यालय, सिँचाइ, कुलो, विद्युत् गृह, सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा रहेका उहाँले बताउनुभयो ।

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नम्वर १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेका जनाउँदै बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

एकीकृत बस्ती निर्माण गरेर स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उहाँको भनाइ छ ।