बागलुङ। बागलुङको ताराखोला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक (हिमाल) र भरतपुर महानगरपालिका प्रमुख रेणु’ दाहालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
ताराखोला गाउँपालिका कृषि र लघु उद्योगमा आत्मनिर्भर पालिका हो । ताराखोला र भरतपुरले आफ्नो काम गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोग र प्रभावकारी सेवा प्रवाह गर्ने सहमति पनि गरेको अध्यक्ष बिकले बताउनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ६, दफा २६ को (ट) मा भगिनी सम्बन्ध स्थापना गर्नसक्ने व्यवस्था छ । दुवै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दमकल, एम्बुलेन्स सेवा, बस्ती विकास, प्रविधि, संस्कृति र उद्यम विकासका लागि बजार व्यवस्थापनमा सहकार्य गर्ने सम्झौता गरेका छन् ।
भौतिक तथा आर्थिक विकासमा सहयोग र अनुभव आदानप्रदान गर्ने पनि उनीहरुको सम्झौतामा उल्लेख गरिएको छ । पर्यटकीय स्थलको प्रचार प्रसारमा दुवै पालिकाले काम गर्ने बिकले बताउनुभयो । उत्पादित मौलिक कृषि उपजको बजारीकरणमा दुवै पालिकाको सहकार्य हुने बताइएको छ ।
यो सम्बन्धले दुवै पालिकाको दीर्घकालीन विकासमा नयाँ ढोका खोलेको बिकको भनाई रहेको थियो । दाहालले पनि स्थानीय तहबीचको सहकार्यले दीर्घकालीन विकासका बाटोमा हिँड्न सहयोग पुग्ने बताउनुभयो । उक्त सम्झौताका लागि बिकसहित वडा अध्यक्षहरु, प्रशासकीय अधिकृत सहितको टोली भरतपुर गएको थियो ।

धौलागिरी टेलिभिजन 










