images
images

जलजलामा मेलमिलाप सम्बन्धी तालिम शुरु

बेनी, १८ जेठ ।

पर्वतको जलजला गाउँपालिकाको मिलनचोकमा बिहिबार देखि मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । जलजला गाउँपालिकाको आयोजना र ग्लोबल एडभोकेसी नेपालको प्राविधिक सहयोगमा शुरु भएको तालिम जेठ २५ गतेसम्म सञ्चालन हुनेछ् । तालिमको जिल्ला अदालत पर्वतका न्यायाधिश आनन्दप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो ।

तालिममा न्यायिक समितिका पदाधीकारी र ९ वटै वडाबाट ४÷४ जनाका दरले ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारीहरुको क्षमता विकास र वडा तथा वस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)ले बताउनुभयो ।

“समाजमा उत्पन्न हुने न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विवादलाई वस्ती स्तरमै मेलमिलापको माध्यमबाट सुझाउन वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो ।

मेलमिलापकर्ताको रुपमा काम गर्न इच्छुक जनप्रतिनिधि र अगुवाहरुलाई आधारभूत तालिम सञ्चालन गरिएको हो । मेलमिलापकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा वस्ती स्तरमै बिवाद निरुपण हुने, मेलमिलाप कायम हुने, न्यायिक समिति, प्रहरी, अदालत र अन्य अर्धन्यायिक निकायमा धाउने समय र खर्चको बचत हुने पर्वतका जिल्ला न्यायाधिश श्रेष्ठले बताउनुभयो ।

जिल्ला अदालत म्याग्दीका न्यायाधिश कृष्णप्रसाद नेपाल, पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजुप्रसाद ढुङ्गानाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो । तालिमका प्रमुख प्रशिक्षकमा एडभोकेसी नेपालका विनिता गुरुङ्ग र सहायक प्रशिक्षकमा सुमना पौडेल रहनुभएको छ ।